एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १२ : धनुषा जिल्ला अदालतले पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहर भएका तीन जनालाई सजाय सुनाएको छ । अदालतले महतोको हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्षको कैद र ५–५ लाख जरिवाना गर्ने फैसला सुनाएको हो ।
त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको छ । न्यायाधीश चित्रबहादुर गुरुङले फैसला सुनाएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै, उनीहरूको सम्पत्तिबाट क्षतिपूर्ति असुल नभएको अवस्थामा सरकारको विपद कोषबाट दिलीपको परिवारजनलाई रकम उपलब्ध गराउन समेत अदालतले आदेश दिएको छ । ७ अभियुक्तमध्ये तीन जनालाई दोषी ठहर गरिएको छ भने चार जनालाई सफाइ दिइएको छ ।
क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिएको छ । २०७६ साल पुस ५ गते औरही खोलामा भइरहेको अवैध उत्खनन् पुगेका धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपको हत्या गरिएको थियो ।