एसपी रिपोर्टर
जनकपुरधाम, असार २७ : प्रदेश २ सरकारले प्रदेशकी महिला र चेलीबेटी बचाउन भन्दै बेटीपढाउ बेटी बचाउ अभियान चलाई रहँदा पनि एक पछि अर्को महिलाको विभत्स हत्याको श्रृंखला भने रोकिएको छैन । पछिल्लो समय गत जेष्ठ १९ गते देखि नै हराइरहेकी महोतरीकी सुजिता ठाकुरको शव आज शौचालयको हदमा फेरापछि निर्मम हत्याको अर्को राज खुलेको छ ।
गत जेष्ठ १९ गते देखि वेपत्ता रहेकी २६ वर्षकी सुजिता ठाकुरको शव अन्ततः प्रहरीले फेला पारेको छ । जिल्लाको लोहरपटटी नगरपालिका वडा नं. ७ भ्रमरपुरा स्थित घर भन्दा केहि उत्तर तर्फ हुलाकी राजमार्गको भ्रमरपुरा जनकपुरधाम सडकखण्डकै छेउमा रहेको निर्माणाधिन पेट्रोल पम्प छेउकै सुजिताको ससुराली पक्षको जग्गामा उनको शव बरामद भएको छ ।
तिनै तहको प्रहरीहरुको संयुक्त टोलीको रोहबरमा आज सो जमिनको सेफटी ट्यांक भित्र लुकाइएको अवस्थामा प्रहरीले उनको शव फेला पारेको हो । शवलाई सेफ्टी ट्यांक भित्र राखेर राखेर पुनः ढलान गरिएको र सेफ्टी ट्यांकी माथी रुख काटेर त्यसको ठुलो झुप्रोहरुले छोपेर राखेको अवस्थामा प्रहरीले सडेगलेको अवस्थामा सुजिताको शव बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले आफुहरु अनुसन्धानकै क्रममा रहेको र अनुसन्धान गर्दै गर्दा केहि सुत्रहरु पाएपछि सोहि सुत्रलाई पछ्याउँदा शव बरामद भएको बताए । उनले मृतक सुजिताको आमा र बुवाले शव उहाकै छोरीको रहेको पुष्टी गरिसकेको समेत बताए । हाल शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाएको समेत उनले बताए ।
यो भन्दा अगावै असार १३ गते प्रहरीले शवको अवशेष हाल शव भेटिएको स्थलबाट करिव पाचसय मिटर पुर्व खेतमा फेला पारेको थियो । पछि अनुसन्धान हुदै जादा प्रहरीले हत्याका आरोपित मध्येका मृतककै देवर रुपेश ठाकुरलाई समेत साविकमा शवको अवशेष फेला परेको स्थलमा ल्याएर उसले भनेको केहि स्थलहरु खनजोत समेत गरेर हेर्दा समेत शव फेला पर्न सकिएको थिएन ।
मृतक ठाकुरकी बुवा कामेश्वर पाण्डेका अनुसार सुजितालाई उनको देवर रुपेश ठाकुर डेढ वर्ष अगाडि सिरानीले नाक मुख थिचेर मार्ने प्रयास गरेको थियो तर उनले हातमा दाँत काटेर ज्यान बचाएपछि उनलाई निर्मम तरिकाले पिटपाट गरिएको थियो । पटक पटक विभिन्न वाहानामा उनलाई यातना दिने काम भएको उनको तर्क छ ।
छोरीको शव भेटेपछि उनकी आमा सुनिता देवी पटक पटक मुर्छित परिरहेकी छन । सुजिताकी श्रीमान मुकेश ठाकुर त्यती सुझबुझ र चनाखो प्रवृतीको नरहेकाले घरको अभिभावक समेत रहेका उनको देवर रुपेश सहित ससुरा सहितकाले उनलाई यातना दिदै आइरहेको थियो । सुजिता वेपता भएपछि उनको खोजी र न्यायका लागि अथक प्रयासरत र क्रियाशिल समाजिक अभियन्ताद्वय सरोज राय र गुञ्जा रायले सुरुमा महोतरी प्रहरी आनाकानी गरेपनि पछि आफुहरुको दबाबले सक्रिय भएको भन्दै शव बरामद गरेकोमा तिनै तहका प्रहरीलाई धन्यवाद दिएका छन् ।
यस्तो थियो घटना :
भ्रमरपुरा निवासी मुकेश ठाकुर का श्रीमति सुजिता जेष्ठ १९ गते घरबाट वेपत्ता भएकोमा उनका माईत पक्षले छोरी खोजी दिन पिपरा प्रहरी चौकीमा निवेदन दिएको थियो । ततः पश्चात समेत उनी फेला नपरेपछि पिडित पक्षले आफ्नो छोरीको हत्या उनको ससुरा पतिराम ठाकुर र देवर रुपेश ठाकुर लगायतकाले मिलेर गरेको भनि जाहेरी दिन खोजेपनि प्रहरीले तत्काल जाहेरी लिन नमानेपछि उनले पुनः जिल्लामा सोधखोजकै लागि निवेदन दिईन ।
यता तत्कालै उपलब्धी हुन नसकेपछि पिडितपक्षले विभिन्न न्यायप्रेमी संघसंस्था,राष्ट्रिय महिला आयोग र अधिकारकर्मीहरुलाई गुहारे । त्यले प्रहरीमाथी दवाव परेपछि अनुसन्धान थप कडाई गर्दै प्रहरीले आफन्तको जिद्दी पछि उनकै खेतमा पहिलो पटक खनेर हेर्दा शवको अवशेष फेला परेको थियो । सोहि वेला देखि श्रीमान र देवर समेत पाचजनालाई नियन्त्रणमा राखेर अनुसन्धान थप अगाडी बढाएको थियो ।
शव बरामद भएको घटनास्थलमा प्रदेश २ प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकार, प्रदेश प्रहरीका डिएसपी ज्ञान कुमार महतो, संघिय प्रहरीका डिएसपी चदलीलाल कामत सहितको समेत उपस्थिती थियो । हिमालय टेलिभिजनका लागि क्यामेरामा संजय साह, महोतरी सहकर्मी रञ्जन भण्डारीको सहयोगमा जनकपुरधामबाट पुरन साहको रिपोर्ट ।