*धर्मराज पाण्डे (डीआर)
गत हप्ता नेपाली सामाजिक सञ्जालको बजारमा राम नाम खुब बिक्री भयो । जसको उत्पादन र प्रमुख बजारीकरणको कार्य स्वयं देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले नै गर्नुभयो । यसलाई बडो जोडका साथ ‘मेड इन नेपाल’ र नेपाली ब्राण्ड भनियो । तर यो समयको माग अनुसार थियो वा थिएन भन्ने कुरा प्रमुख विषय थियो । यो कस्तो भयो भन्दा रत्नपार्कको फूटपाथमा सयको ३ जोर मोजा जस्तो सस्तो पो भयो । तर पनि खरिदकर्ता (जनता) ले मन पराएनन् । ठीक यस्तै प्रकारले नेपाली राजनीतिमा पनि यस्तै सस्तो दोकान खोलिन्छ तर बिक्दैन । जनताको चाहना अनुसार हुँदैन, त्यसैले गन्हाउँछ ।
रामायणमा एउटा रोचक प्रसङ्ग छ । रामका भाइ लक्ष्मण र रावणका सुपुत्र इन्द्रजीतबीच लडाइँ तोकिएको हुन्छ । भिषण युद्धको क्रममा इन्द्रजीतले लक्ष्मणलाई सख्त घाइते बनाउँछन् । रणभूमिमा जीवनमरणको दोसाधमा रहेका आफ्ना भाइ लक्ष्मणलाई देखेपछि रामले युद्ध रोक्छन् र औषधिजन्य सञ्जीवनी बुटी खोज्न हनुमानलाई आदेश गर्छन् ।
ठीक यसैगरी कोरोनाको कहरसँग लड्न सरकार युद्धस्तरमा लाग्नुपर्थ्यो । रामको खोजीमा लाग्यो । जनताको जीवन बचाउन सञ्जीवनी उपाय खोज्नुपर्थ्यो । बिडम्बना संक्रमणको विष पिउन जनता बाध्य भए ।
तर समकालीन विश्वलाई नियालिरहँदा एउटा यस्तो व्यक्तित्व देखाप¥यो, जसले संसारभरका मानिसका लागि जीवन बुटी आविष्कार गरिएको घोषणा गरे । त्यो हो कोरोना विरुद्धको खोपको आविष्कार । उतै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको हालसम्मको यात्रा विवरण हेरौं –
रसियनका राष्ट्रपति भ्लादिमिर पुटिनको जन्म ७ अगस्ट १९५२ मा लेनिनगार्ड (अहिलेको सेन्ट पिटर्सवर्ग) मा भएको हो । उनका बुवा रसियन आर्मी र आमा उद्योगमा कामदार थिइन् । पुटिन १२ वर्षको कलिलो उमेरमै स्याम्बो र जुडोमा च्याम्पियन थिए ।
पुटिनको स्कूले जीवन आफ्नो जन्म ठाउँमै बित्यो । पढाइमा उनी औसत विद्यार्थीमै गनिन्थे । उनले उच्च शिक्षा अध्ययन लेनिनगार्ड युनिभर्सिटीमा कानून विषयमा गरे । उनले अन्तर्राष्ट्रिय कानूनमा स्नाकोत्तरसम्म अध्ययन गरेका छन् । यसका अलावा सेन्ट पिटर्सवग हाई स्कूलबाट जर्मन भाषाको कक्षा लिएका थिए, जसले गर्दा उनी मज्जाले जर्मन भाषा बोल्न सक्छन् ।
जागिरे जीवन
भ्लादिमिरमा बाल्यकालदेखि नै रसियन सिनेमाको प्रभाव प¥यो । खासगरी रसियन जासूससँग सम्बन्धित सिनेमा हेर्नु उनको नशाजस्तै बनेको थियो । जसका कारण त्यस्तै बन्ने कौतुहलता जागिरह्यो । पुटिनले १६ वर्षको कलिलो उमेरमै रसियन जासूस संस्था केजीबीमा जागिरका लागि आवेदन भरे । तर उनको उमेर सानै भएका कारण त्यहाँका प्रमुखले सम्झाइबुझाई धेरै पढ्न सुझाए । पुटिनले ती अधिकारीसमक्ष आफू सो क्षेत्रमा लाग्न अत्यन्त उत्सुक रहेको भनी अनुनय गरे ।
एउटा किशोरको यस्तोे रुचि देखेपछि त्यहाँका प्रमुखले उनलाई नियुक्ति दिए । केजीबी प्रवेशसँगै उनलाई ओक्टा लेनिनगार्डमा तालिम दिइयो । पुटिनले ‘सेकन्ड चिफ डक्टोरेट’बाट ‘फस्ट चिफ डक्टोरेट’सम्मको जिम्मेवारी सम्हाले ।
कूटनीतिक चलाखीपनको रोचक प्रसंग
जर्मनीमा बर्लिनको पर्खाल भत्किनुअघि पश्चिम जर्मनी र पूर्वी जर्मनी गरी २ देशमा विभक्त थियो । पूर्वी जर्मनी खासगरी कम्युनिस्टको बाहुल्यता रहेका कारण कम्युनिस्ट सरकार थियो । पश्चिम जर्मनीमा दक्षिणपन्थीको सरकार थियो । यद्यपि पश्चिम जर्मनीमा केही मात्रामा कम्युनिस्ट समर्थक विद्रोहीको समूह पनि थियो । ठीक यही समय पुटिन पूर्वी जर्मनीमा आफ्नो वास्तविक पहिचान लुकाएर भाषा अनुवादकर्ताको रूपमा कार्यरत भए । तर त्यहाँ रहेर अदृश्य रूपमा पुटिनले केजीबीका लागि काम गर्ने र बिस्तारै पश्चिम जर्मनीका कम्युनिस्ट विचार राख्नेहरूलाई मद्दत पु¥याउन थाले । यसको विपरीत ९ नोभेम्बर १९८९ को प्रदर्शनकारीको ठूलो भीडले बर्लिनको पर्खालसँगै कम्युनिस्ट सरकार पनि ढाल्यो । प्रदर्शनकारीको भीडले पुटिनको कार्यालय समेत घे¥यो । बडो चातुर्यतापूर्ण तबरले उनले केजीबीसँग सम्बन्धित कागजात, गतिविधि तथा प्रमाण कसैले फेला नपारुन् भनेर निवासभित्रै जलाए । बाहिर निस्केर प्रदर्शनकारीको भीडलाई आफूसँग बन्दुकधारी सेक्युरिटी गार्ड रहेको र कोही अगाडि बढ्न खोजे सिध्याउने धम्की दिइ त्यहाँबाट उम्कन सफल भए ।
राजनीतिक यात्रा
पुटिनले सन् १९९१ मा केजीबीको जागिरे जीवनबाट राजीनामा दिए । जसको कारण तत्कालीन राष्ट्रपति मिखाइल गोर्भाचेभको तत्कालीन नयाँ प्रशासनिक कार्यशैली मन नपरेर राजीनामा दिएको भनी एउटा अन्तर्वार्तामा जनाएका छन् । त्यसपछि उनी लेनिनगार्डका मेयरको अन्तर्राष्ट्रिय मामिला सल्लाहकारको रुपमा नियुक्त भए । यसैगरी उनले मेयर कार्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रमुख भई काम गरे । पछि उनी नगरसभा सदस्यको अनुसन्धानमा उक्त क्षेत्रको धातुहरू निकै सस्तो मूल्यमा निर्यात गरेको र त्यसको साटोमा खाद्यान्न आपूर्ति गर्ने सम्झौता पूरा नभएको आरोपमा बर्खास्तीमा परे । सन् १९९४ मा सेन्ट पिटर्सवर्ग राज्य सरकारको फस्ट डेपुटी चेयरमेन भई काम गरे ।
पुटिनको राजनीतिक जीवनको गति तब बढ्छ, जब उनी सेन्ट पिटर्सवर्ग छोडी राजधानी मस्कोमा राष्ट्रपति कार्यालयमा काम शुरू गर्छन् । सन् १९९७ मा तत्कालीन राष्ट्रपति बोरिस यल्टसिनले उनको कूटनीतिक क्षमता र अनुभवको मूल्यांकन गर्दै राष्ट्रपति कार्यालयको ‘डेपुटी चिफ स्टाफ’मा नियुक्ति गरे । पुटिन राष्ट्रपति यल्टसिनका विश्वसनीय र प्रिय पात्र थिए । जसका कारण उनलाई कहिले राष्ट्रिय सुरक्षा सेवाको प्रमुख त कहिले केजीबीको प्रमुख बनाइयो । यहाँसम्म कि राष्ट्रपति यल्टसिनकै प्रस्तावमा सन् १९९९ अगस्टमा रसियन संसद ड्युमाबाट २३३ मत प्राप्त गरी प्रधानमन्त्रीमा नियुक्त भए । जसमा प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत २२६ भए पुग्थ्यो । प्रधानमन्त्री बन्नुभन्दा पहिले आम जनतामाझ राजनीतिक रूपमा दलमा आवद्ध भएको र चिनेको अनुहार थिएन । जसका कारण देशैभर विरोध र प्रदर्शनहरू भए र राष्ट्रपति बोरिस यल्टसिनको कार्यशैलीप्रति निन्दा गरियो ।
रसियामा राष्ट्रपति यल्टसिनको लोकप्रियता खस्कँदै थियो । उनीमाथि पदीय दुरुपयोग र भ्रष्ट्राचारका आरोपहरू पनि थिए । यसबीचमा उनले राष्ट्रपति पदबाट अनपेक्षित राजीनामा दिए । तर यो सबै पुटिनलाई आफ्नो उत्तराधिकारी बनाउने योजना थियो भनिन्छ । रसियन संविधानअनुसार पुटिन एक्टिङ (कामचलाउ) राष्ट्रपतिमा नियुक्त भए । पुटिनले चुनावको सामना गर्दै वैधानिक रूपमा कार्यकारी राष्ट्रपति बन्नका लागि विचार मिल्ने स–साना पार्टीसँग पनि एकता गर्दै ‘युनाइटेड रसिया पार्टी’ भनी नाम दिए । सन् २००० जुनमा भएको राष्ट्रपतीय चुनावमा ५३ प्रतिशत मतका साथ विजयी भए । आफ्नो ४ वर्षे कार्यकालमा विभिन्न विवाद, आरोप–प्रत्यारोपको सामना गर्दै १४ मार्च सन् २००४ मा ७१ प्रतिशत मत प्राप्त गरी पुनः दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भए । तेस्रो कार्यकालका लागि राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिन रसियन संविधानले दिएन । त्यसैले सन् २००८ को निर्वाचनमा आफ्नो राजनीतिक प्रभाव कायम राखिराख्न आफ्ना विश्वास पात्र दिमीत्री मेदभेवलाई राष्ट्रपति बनाउँदै पुटिन प्रधानमन्त्री बने । यसको ४ वर्षपछि सन् २०१२ मा तेस्रो कार्यकाल ६ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भए । हाल पुटिन राष्ट्रपतिको रुपमा चौथो कार्यकाल हो । यसको अवधि सन् २०२४ सम्म छ ।
पुटिनमाथिका आरोप तथा विवादहरू
राष्ट्रपति पुटिनमाथि चौथो कार्यकालसम्मको अवधिमा थुप्रै विवादास्पद कार्य गरेका आरोप छन् । पुटिनका विपक्षी जागिरे जीवनबाट उपप्रधानमन्त्री, प्रधानमन्त्री हुँदै राष्ट्रको महत्त्वपूर्ण पद समाल्न पुग्ने बाटो नै अवैधानिक कदम थियो भनी टिप्पणी गर्छन् । आफ्नो दोस्रो कार्यकालमा रसियन सेनाभित्रको भ्रष्टाचारको पर्दाफास गरेबापत चर्चित पत्रकार अन्ना पोलितकोभस्कायको हत्या गरिएको आरोप छ । यद्यपि घटनामा संलग्न भनिएकालाई पक्राउ गरी मृत्युदण्डको सजाय तोकिएको छ । सन् २०१५ मा विपक्षी नेता तथा पुटिनका कट्टर आलोचक बोरिस नेमसोभको हत्या हुनुले बेलाबेलामा पुटिनमाथि प्रश्न उठ्ने गर्छन् । यसबाहेक सिरियामा अदृश्य रुपमा त्यहाँका राष्ट्रपति बसर अल असदलाई सघाउ पु¥याइ द्वन्द्व निम्त्याएको, युक्रेनको क्राइमियामा जनमत संग्रह गराई रसियामा विलय गराएको र अमेरिकाको राष्ट्रपतीय चुनावमा ट्रम्पलाई सघाउ पु¥याएका आरोप छन् । पुटिनले रसियन संविधानको आफूअनुकूल संशोधन र व्याख्या गरी आफूमा शक्ति केन्द्रित गरेकोसम्मका आरोप छन् ।
पुटिन आगमनपछिको रसिया
सोभियत युनियनको विघटनसँगै रसिया मात्र होइन, युरोपका धेरै राष्ट्रको अर्थतन्त्र ओरालो लागेको थियो । रसियाको आम्दानीको स्रोत खासगरी तेल र ग्यासको निर्यातमा निर्भर थियो । तर पुटिनले सत्ता समाल्नुभन्दा पहिले तेलको मूल्यमा यस्तो गिरावट आयो कि प्रतिब्यारल मात्र १० अमेरिकी डलर भयो । रसिया नराम्ररी वित्तीय संकटमा फस्यो । विदेशी र स्वदेशी लगानीकर्ताको पलायन भयो । भ्लादिमिर पुटिनको पहिलो र दोस्रो कार्यकालले रसियालाई राज्य संरक्षित उदारवादी अर्थतन्त्र स्थापना योजनाअनुरुप थुप्रै नयाँ कानूनहरू ल्यायो । जसले रसियाको अर्थतन्त्रमा परिवर्तन ल्याइदियो । तेल तथा खानीजन्य उत्पादन र निर्यातमा बढोत्तरी भयो । पुटिनको आगमनसँगै तेलको मूल्य प्रतिब्यारल १५० अमेरिकी डलरसम्म रह्यो । सन् २००० मा पुटिनले सत्ता समाल्नुभन्दा पहिले रसियाको गरीबी ३० प्रतिशत थियो । हाल यसमा आधाभन्दा बढी घटी १३.२ प्रतिशत रहेको छ । यसलाई सन् २०२४ सम्ममा आधाले घटाई ६.६ मा झार्ने योजना पुटिन सरकारले प्रस्तुत गरेको छ ।
कूल गार्हस्थ उत्पादनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । सन् २०१९ को आँकडालाई हेर्दा प्रतिव्यक्ति आय ११ हजार १६३ अमेरिकी डलर रहेको छ । रसियामा बेरोजगारी दर जम्मा ४.५ प्रतिशत रहेको छ । यसका साथै सामरिक दृष्टिले रसिया वर्तमान विश्वको एक शक्तिशाली राष्ट्र हो ।
थप समस्या र चुनौतीहरू
रसियन अर्थतन्त्र खानीजन्य उत्पादन र त्यसको निर्यातमा निर्भर रहेको हुँदा मूल्यस्थिरता कायम राखिराख्नु ठूलो चुनौती पुटिन सरकारसामु छ । ओपेकको सदस्य राष्ट्र नभएता पनि रसियामा तेल र ग्यासको उत्पादन बढी नै हुन्छ । यसका अलावा रसियाका हालको जनसंख्यामा करीब २५ प्रतिशत वृद्धहरूको रहेको तथ्याकं छ । यो संख्या बढेर सन् २०२४ मा २८ प्रतिशत पुग्ने आकलन गरिएको छ । ठूलो संख्यामा रहेका वृद्ध तथा अवकाशप्राप्त व्यक्तिको सामाजिक सुरक्षा लगायतका अन्य व्यवस्थापन चुनौतीपूर्ण छ । सुन्दा अनौठो लाग्ने रसियामा अधिक मात्रामा अल्कोहल (रक्सी) खपत पनि चुनौती हो । यसका अलावा भ्रष्टाचार नियन्त्रण, आन्तरिक शान्ति कायम गर्नु र बाह्य मुलुकसँग आर्थिक र राजनैतिक कूटनीति सबल र सुदृढ गर्नु प्रमुख चुनौती छँदैछ ।
उल्लेखित चुनौतीको सामना गर्न पुटिन सरकारले डिजिटल अर्थतन्त्र, पर्यावरण, श्रम उत्पादन र रोजगारी, अन्तर्राष्ट्रिय सहकार्य र निर्यात, शिक्षा, संस्कृति, साना र मध्यम व्यापार, स्वास्थ्य, जनसंख्या, सुरक्षित र गुणस्तरीय पूर्वाधार, शहरीकरण र विज्ञान जस्ता १२ वटा राष्ट्रिय प्राथमिकताका आयोजना भनी उद्घोष गरिसकेको छ ।
स्पुतनिक भी सञ्जीवनी बुटी होला त ?
विश्व अहिले कोभिड–१९ नामक रोगको महामारीबाट आतंकित बनेको छ । विश्व अर्थतन्त्र डगमगाएको छ । त्योभन्दा बढी मानव जाति र सभ्यताको डाइनोसरजस्तै अवसान हुने हो कि भन्ने चिन्ता छ । के विकसित, के अविकसित ! सबै राष्ट्रहरू हायल कायल छन् । जसको औषधि–उपचार केही छैन । मात्र छ त स्टेहोम ः स्टेसेफ । तर यो कहिलेसम्मका लागि ? यो प्रश्नको उत्तरस्वरुप उनै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मानव जीवन रक्षा गर्ने सञ्जीवनी खोपको आविष्कार गरिएको घोषणा गरे । खोपलाई स्पुतनिक भी नाम दिइएको छ । यसलाई रसियाका डाक्टर र शिक्षकमा दिएको र परीक्षण सफल भएको पुटिनको दाबी छ ।
डाक्टर र शिक्षकलाई किन प्राथमिकता ? पत्रकारको प्रश्नमा उनले भने, ‘डाक्टर नै मरे भने बिरामीको उपचार कसले गर्ने ? शिक्षक मरे भने डाक्टर उत्पादन कसले गर्छ ?’ पुटिनले यो खोप अक्टोबरसम्ममा आम मानिसको प्रयोगमा ल्याउने उद्घोष गरेका छन् । कोरोना विरुद्धको यो खोप सफल भएमा रसियालाई आर्थिक रुपमा निकै लाभ त पुग्छ नै, यसका साथै विश्व मानव जातिको जीवन रक्षा गर्ने महामानवको रूपमा पुटिनको नाम दर्ज हुनेछ ।
लोकान्तरडटकमवाट