FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


नेपालीलाई लठ्याउँदै टिकटक, लकडाउनपछि प्रयोग झण्डै दोब्बर


नेपालीलाई लठ्याउँदै टिकटक, लकडाउनपछि प्रयोग झण्डै दोब्बर

चिरञ्जीवी पौडेल
काठमाण्डौं, साउन २८ :
अहिलेको समय यदि तपाईं टिकटकमा हुनुहुन्न भने बुझ्नुस्, तपाईंले धेरै कुरा मिस गरिरहनुभएको छ । ठाडै विज्ञापन गरेको जस्तो सुनिए पनि यो वास्तविकता हो । मनोरञ्जनका लागि मात्र होइन, सूचनाका लागि पनि अपरिहार्य बन्दै गएको छ यो चाइनिज एप । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका रुपमा सुरुमा चिनिए पनि अहिले यो बहुआयामिक बनिरहेको छ । आफ्नो प्रतिभा देखाउने त छँदैछ, संसारभर के कुरा ट्रेन्डिङमा छ भनेर थाहा पाउन सकिने सबैभन्दा सहज माध्यम नै अहिले टिकटक एप हो । राजनीतिदेखि चलचित्रसम्म अध्यात्मदेखि संगीतसम्म सबै विधाका ‘हट टपिक’ सबैभन्दा पहिले टिकटकमा आउन थालेका छन् ।

नेपालीहरुमा टिकटकले आफ्नो जादु चलाएको दुई वर्षजति भयो । सुरुमा टीनएजका केटीहरु यसमा आकर्षित भए । त्यसपछि विस्तारै हरेक उमेर समूहका नेपालीहरुलाई यसले लठ्याइरहेको छ । आजकाल बौद्धिक क्षेत्रका व्यक्तिहरुसमेत यसमा रमाउन थालेका छन् । कुनै पनि महत्वपूर्ण कार्यक्रम वा रोचक घटनाहरुको भिडियो सबैभन्दा पहिले टिकटकमा भेटिन्छ । कुनै अन्तरवार्ताको विवादस्पद अंश पनि टिकटकमै पहिले आउँछ । जस्तो कि हालै एक सञ्चारकर्मीले टेलिभिजनमा नायिकालाई गरेको छुद्र गाली टिकटकमार्फत भाइरल भएको हो । अरु पनि थुप्रै स्क्यान्डल टिकटकले जन्माइरहेको छ । तसर्थ, सुरुवातमै भनिएजस्तो, यदि टिकटकमा तपाईं हुनुहुन्न भने धेरै कुरा मिस गर्नुहुनेछ ।

नेपालमा धेरै व्यवसायिक प्रतिष्ठानहरुले टिकटकको उपयोग गर्नतिर ध्यान दिएका छैनन् । अन्यथा १५ सेकेन्डको भिडियो बनाएर टिकटकमा हाल्दा त्यसले लाखौं÷करोडौं रुपैयाँको विज्ञापनको काम गर्ने गर्न सक्छ । जस्तो कि ई–सेवाले बनाएको विज्ञापन गीत टिकटकमा भाइरल भयो । सञ्चार माध्यममार्फत यति प्रचार पाउनका लागि कम्पनीले निकै ठूलो धनराशी खर्च गर्नुपथ्र्यो ।

लकडाउनयता झन् लोकप्रिय

कोरोनाको प्रभाव बढ्न थालेपछि जब नेपालमा देशब्यापी लकडाउन भयो, मानिसहरु आ–आफ्नो घरभित्र कैद भए । यस्तो बेला युवा–युवतीहरुको समय बिताउने माध्यम बन्यो टिकटक । लकडाउनका समयमा नेपालमा टिकटक प्रयोगकर्ता अत्यधिक थपिएको देखिन्छ । यसको एकिन तथ्यांक पाउन नसकिए पनि लकडाउनभन्दा अगाडिको तुलनामा टिकटकको प्रयोग झण्डै दोब्बर बनेको अनुमान छ ।

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा प्रतिसेकेन्ड ५ सय देखि ५५० जीवी इन्टरनेट खपत हुन्छ । लकडाउनभन्दा अगाडिसम्म टिकटक प्रयोगकर्ताले मात्रै प्रतिसेकेन्ड ७ जीबी डाटा खपत गर्थे । यो अहिले १३ जीबी पुगेको छ । यसबाहेक एनसेल, एनटीसी र स्मार्ट सेलको मोबाइल ब्रोड ब्यान्डबाट पनि इन्टरनेट प्रयोग गर्नेले टिकटक चलाउँछन् । यसरी हेर्दा करिब टिकटकमा १५ जिबीपीएसभन्दा बढी डाटा प्रयोग भइरहेको अनुमान प्राधिकरणको छ । यस हिसाबले टिकटकको उपयोग ६० देखि७० प्रतिशतले बढेको मान्न सकिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।

आजकल फेसबुक र युट्युव छोडेर युवायुवती टिकटकमा झुण्डिन थालेका छन् । यसमा आउने ३ सेकेन्डदेखि १ मिनेटसम्मका भिडियोहरु हेरेर उनीहरु घन्टौं बिताइदिन्छन् । पहिले–पहिले युवायुवतीहरु घुमघाम वा जमघट गर्दा फोटोरभिडियो खिच्न हतारिन्थे । तर, अहिले टिकटक बनाउन कस्सिन्छन् ।

यसरी जन्मियो टिकटक

लिपसिंक (अरुको आवाजमा ओठ चलाएर अभिनय गर्ने काम) छोटा भिडियो बनाएर सेयर गर्ने सुविधा सबैभन्दा पहिले २०१० मा ‘डब्समास’ नामक एपले दिएको थियो । भाइन नामक अर्को एप पनि यस्तै फिचरहरु लिएर आयो । तर, टिकटक आएपछि यिनीहरुका दिन सकिए ।

सन् २०१२ मा चिनियाँ व्यवसायी झाङ यामिङले स्थापना गरेको आईटी कम्पनी बाइट डान्सले सुरुमा ‘डाउयीन’ नाम एप को विकास गरेको थियो सन् २०१६ को सेप्टेम्बरमा । पछि सन् २०१७ मा चीनभन्दा बाहिरको बजारलाई लक्षित गर्दै आइओएस र एन्ड्रोइडका लागि ‘टिकटक’ लन्च गरियो । यद्यपि, सन् २०१८ को २ अगष्टमा म्युजिकल. लीलाई खरिद गरेपछि टिकटक विश्वव्यापीरुपमा उपलब्ध भएको हो । एक अर्ब डलरमा टिकटकले म्युजिकल.लीलाई किनेको थियो ।

बाइटडान्सको प्रधान कार्यालय बेइजिङमा छ भने टिकटकका कार्यालयहरु विश्वका थुप्रै शहरमा छन् । बब्लीन, लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, मुम्बई, सिंगापुर, जाकार्ता, सोल, टोकियोजस्ता देशहरुमा टिकटकका शाखा कार्यालय खोलिएको छ । लन्च गरिएको छोटो समयमा नै यसले पूर्वी एसिया, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अमेरिका, टर्की, रसिया तथा विश्वका अन्य भागमा लोकप्रियता कमाएको थियो । सन् २०२० को अगष्टमा टिकटकका विश्वभर टिकटक प्रयोगकर्ता १ अर्ब नाघेका छन् । केवल चार वर्षको अवधिमा यो उपलब्धी अविश्वसनीय हो ।

विवाद र प्रतिवन्ध

टिकटकलाई लिएर केही देशहरुमा विवाद पनि उब्जिने गरेका छन् । प्रमुखरुपमा यस्तो विवाद अमेरिका र भारतमा देखिन्छ । यी दुई चीनका प्रतिस्पर्धी मुलुक हुन् । गत वर्ष भारतमा त्यहाँको अदालतले टिकटकले अश्लिलता फैलाएको भन्दै यसलाई रोक लगाएको थियो । तर, त्यो रोक लामो समय टिक्न सकेन । अदालतले आफ्नो फैसला उल्टाएपछि टिकटक फुकुवा भयो ।

यसै वर्ष चीन र भारतबीच लद्दाखमा तनाव भयो र त्यहाँ चिनियाँ पक्षबाट २० जना भारतीय सैनिक मारिए । यसको प्रतिरोध भारतले टिकटकमा पोख्यो । चीनसँग बदला लिने क्रममा भारतले टिकटक लगायतका पाँच दर्जनजति चाइनिज एपहरुलाई प्रतिवन्ध लगाएको छ । टिकटकको सबैभन्दा ठूलो बजार थियो भारत । गत वर्षको जूनसम्ममा त्यहाँ विश्वमै सबैभन्दा बढी १२ करोड टिकटक प्रयोगकर्ता थिए । भारतमा लागेको प्रतिवन्धले टिकटकलाई निकै ठूलो धक्का लागेको छ । भारतले गत जून २९ बाट टिकटकसहित चिनियाँ एपहरुमाथि प्रतिवन्ध लगाएको हो ।

अर्कोतर्फ टिकटकको अर्को ठूलो बजार अमेरिकामा पनि यसको अस्तित्व खतरामा परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार टिकटक बन्द गराउने धम्की दिइरहेका छन् । गत ६ अगष्टमा उनले दुई कार्यकारी आदेशमा हस्ताक्षर गरे जसले दुई लोकप्रिय चिनियाँ एप टिकटक र विच्याटलाई ४५ दिनभित्र बन्द गराउने भनिएको छ । कुनै अमेरिकी कम्पनीले खरिद गरेमा मात्र अमेरिकामा टिकटक जीवित रहन सक्ने छ । अहिले माइक्रोसफ्टसहित विभिन्न कम्पनीले टिकटक खरिदमा रुचि देखाएका छन् ।

टिकटक अहिले विश्वमा सबैभन्दा डाउनलोड गरिने एपहरुको सूचीमा एक नम्बरमा छ । अहिलेसम्म विश्वव्यापीरुपमा यो एप दुई अर्बपटक डाउनलोड गरिएको छ । टिकटकमा विश्वका एकसेएक प्रख्यात सेलिब्रिटीहरु जोडिएका छन् । एप ट्रेस नामक वेबसाइटका अनुसार टिकटक एप अहिले विश्वका १४१ देशमा उपलब्ध छ । यीमध्ये १३५ देशमा यो सर्वाधिक लोकप्रिय एपका रुपमा रहेको छ । सामाजिक सञ्जालमा गरिने पोष्टमा सबैभन्दा बढी इंगेजमेन्ट हुने टिकटकमा नै हो ।

प्रतिभाको डबली

यदि तपाईंसँग कुनै प्रतिभा छ, र त्यसलाई संसारसँग उजागर गर्न चाहनुहुन्छ भने तपाईंले कुनै मिडियाको दैलो चहार्नु पर्दैन, कुनै यूट्युवरको पछि लाग्नु पर्दैन । मोबाइलमा टिकटक डाउनलोड गर्नुस्, आफ्नो प्रतिभा देखाएर भिडियो बनाउनुस् अनि पोष्ट गर्नुस् ।
धेरैले टिकटकलाई अभिनय वा डान्स देखाउन सकिने प्लेटफर्म मात्र ठान्छन् । त्यो सत्य होइन । आफूसँग भएको जुनसुकै कला यसमा प्रदर्शन गर्न सकिन्छ । कसैलाई राम्रो गाउन आउँछ भने गाएको भिडियो हाल्न सक्छन् । जादु देखाउने कला छ भने त्यस्तै भिडियो बनाउन सकिन्छ । जोक भनेर हसाउँदा पनि भयो । यसमा नअटाउने केही पनि छैन ।

नेपालकै केही टिकटकरहरुको उदाहरण लिउँ ।

अभिनय र डान्सबाट फलोअर्स कमाएका त धेरै छन् । अरु विधामा पनि कम छैनन् । जस्तो कि, फेस डान्स र रोबोट एक्ट गरेर प्रख्यात बनेकी छन् चितवनकी गृहिणी कञ्चन बराल चालिसे । उनलाई पाँच लाखभन्दा बढीले फलो गरिरहेका छन् । यस्तै, घरको भान्सामा आफ्नै आमासँग जोक बनाएर चर्चा कमाएका छन्, पुरु सिग्देलले । यी प्रतिनिधि पात्र हुन् । नेपालका केही टिकटकरहरुको अविश्वसनीय फ्यान फलोइङ छ । जस्तो कि अष्ट्रेलियामा बस्ने अञ्जु भण्डारी नाम गरेकी नेपाली युवतीका ७२ लाख फलोअर्स छन् । उनी सन् २०१५ मा भएको एसएलसी प्रिन्सेस प्रतियोगिताकी विजेता हुन् ।

ट्विनी गल्र्सका नामले चिनिने प्रिज्मा र प्रिन्सी खतिवडाले ६५ लाख फलोअर्स कमाएका छन् । उनीहरुका फलोअर्स नेपालमा मात्रै सीमित छैनन् । भारत, पाकिस्तानलगायत दक्षिण एसियाली देशमा पनि छन् । टिकटकबाट कमाएको लोकप्रियताले उनीहरुलाई मोडलिङमा धकेलेको छ । अहिले म्युजिक भिडियोमा पनि मोस्ट डिमान्डेड नाम हुन् प्रिज्मा र प्रिन्सी । प्रिज्मा भन्छिन्, ‘हामीले कलाकारितामा लाग्ने कुनै सोचाइ नै बनाएका थिएनौं, टिकटकले नै हामीलाई यो फिल्डमा ल्याएको हो ।’

टिकटकबाट म्युजिक भिडियो वा फिल्ममा आएका कलाकारहरु अरु पनि छन् । एउटा चलचित्रमा नायिका बनेकी रेश्मा घिमिरेले कुनै चर्चा पाउन सकिनन् । पहिलो चलचित्र नै असफल भएपछि उनलाई कुनै अफर आएन । तर, टिकटक उनका लागि वरदान बनिदियो । अभिनय र नृत्य दुवैमा पोख्त उनी अहिले म्युजिक भिडियोमा चर्चित र व्यस्त छिन् । टिकटकमा गरेको अभिनयबाट उनले निकै राम्रो फ्यान फलोइङ कमाउन सफल भइन् ।

नेपाली संगीतलाई बरदान

टिकटकका फाइदाहरुको कुरा गर्दा पहिलो त यो मनोरञ्जन वा टाइमपासका लागि उपयोगी भयो । दोस्रो आफ्नो प्रतिभा देखाउन सक्ने प्लेटफर्म र तेस्रो सूचनाको स्रोत पनि भयो । त्यसबाहेक नेपालमा टिकटकले पुर्याएको महत्वपूर्ण योगदान हो, नेपाली गीत–संगीतको प्रवर्द्धन । नेपाली संगीत क्षेत्रका लागि टिकटक एउटा बरदान नै सावित भइरहेको छ । युवापुस्तालाई नेपाली मौलिक लोकसंगीततर्फ यसले तानेको छ । उनीहरु विदेशी गीत–संगीतबाट नेपाली गीत–संगीत, त्यसमा पनि विशेषतः लोकसंगीततर्फ मोडिनु निकै सुखद विषय हो ।

यदि तपाईंले राम्रो गीत बनाउनुभएको छ भने त्यसको विज्ञापनमा अब पैसा खर्च गर्नुपर्दैन । टिकटकरहरुले निःशुल्क विज्ञापन गरिदिन्छन् । अहिले धेरै नेपाली गीतहरुले टिकटकबाटै यूट्यूवमा भ्यूज बढाइरहेका छन् । उदाहरणका लागि निशान भट्टराई र एलिना चौहानले गाएको ‘के माया लाग्छ र‘’ बोलको गीतले सुरुमा राम्रो भ्यूज पाइरहेको थिएन । तर, टिकटकमा जब भाइरल भयो, यसको युट्युव भ्युज ह्वात्तै उकालो लाग्यो ।

कतिपय पुराना र कालजयी गीतहरुलाई पनि टिकटकले युवा पुस्तासम्म पुर्याइरहेको छ । भारतमा टिकटक प्रतिबन्धित भएपछि अहिले हिन्दी डाइलग वा गीतमा नेपालीहरुले टिकटक बनाउने क्रममा पनि निकै ह्रास आइरहेको छ । नेपालीहरुले नेपाली गीतमै टिकटक बनाइरहेका छन् । यसले नेपाली संगीतको अन्तर्राष्ट्रिस्तरमै प्रवद्र्धन भइरहेको छ । यसकारण कि केही नेपाली टिकटकरहरुका अन्य देशहरुमा पनि धेरै फलोअर्स छन् । उनीहरुले नेपाली गीतमा टिकटक बनाउँदा ती देशसम्म नेपालको संगीत पुग्छ । कतिपय विदेशी नागरिकहरुले पनि नेपाली गीतमा टिकटक बनाएको देख्न सकिन्छ ।

विकृति र समाधान

जब कुनै नयाँ आविस्कार हुन्छ र त्यसले व्यापकता पाउँछ, विस्तारै विकृतिहरु पनि जन्मन थाल्छन् । विकृतिहरुलाई पन्छाउँदै, कुल्चँदै आविस्कारको मर्मलाई जीवन्त बनाइराख्ने चुनौति त्यसपछि पैदा हुन्छ । टिकटकमा पनि केही विकृति र खराबीहरु देखिन थालेका छन् । गृहणीहरु टिकटकमा भुलेर बच्चा, भात बिगारेकोदेखि किशोरीहरुले टिकटकको लत लागेर पढाइ नै बिगारेकोसम्मका गुनासाहरु पुरुषहरुको सर्कलमा सुनिने गर्छन् ।

भाइरल हुने चक्करमा कतिपय अत्यन्तै उच्छृङ्खल र अपाच्य खालका हर्कतहरु गर्ने गर्छन् । कोही अश्लिल शब्दहरु बोलेर लाइक र कमेन्ट बटुल्ने दुर्नियत राख्छन् । कमेन्ट बक्समा पनि अश्लील गालीगलौजहरु भरमार भेटिन्छन् । टिकटकका कारण राम्रा मेलोडियस गीतहरु छायामा परेर ताइ न तुइका गीतहरु भाइरल भइरहेका गुनासो कतिपय संगीतकर्मीबाट सुन्न थालिएको छ । यो केही हदसम्म सत्य पनि हो ।

टिकटकमा भाइरल बनाउने नाममा नयाँ पुस्ताको संगीतकर्मीहरु हाउडे गीततिर लागिरहेका छन् । प्रकाश सपुतको नयाँ सन्देशमुलक गीत ‘बदला बरिलै..’ ले यूट्यूवमा धेरै दिन एक नम्बर ट्रेन्डिङमा रह्यो । तर टिकटकमा यसको त्यतिविघ्न चर्चा भएन । जब कि ‘के छ है‘ ठिकै छ’ टाइपका गीतहरु टिकटकमा रातारात भाइरल हुन्छन् ।

मूलतः अश्लीलताको पाटोले नेपाली समाजमा टिकटकलाई मैलो बनाइरहेको छ । अश्लील दृश्यलाई त टिकटक आफैंले सम्पादन गर्छ । तर, नेपाली भाषामा बोलिएका अश्लील संवादहरुचाहिँ जस्ताको तस्तै आउँछन् । बालबालिकाको हातमा पनि पुग्ने टिकटकमा यस्तो संवादहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने सोचनीय विषय बन्दै गएको छ ।

अर्को गालीगलौजको समस्या पनि बढ्दो छ । यसबाट खास गरी महिला सेलिब्रिटीहरु बढी पीडित भइरहेका छन् । केही समयअघि दीपाश्री निरौलाले राजेश हमाल महानायक होइनन् भन्दा सबैभन्दा टिकटकमा चर्को गालीगलौजको सामना गर्नुपर्यो । विभिन्न स्क्यान्डलमा मुछिएका नायिकाहरु वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मालगायत पनि अश्लील गालीगलौजको शिकार बनेका छन् ।

तर, केही खराबीहरुलाई उछालेर टिकटक नै बन्द गर्नुपर्ने मागचाहिँ खुट्टामा घाउ लाग्दा खुट्टा नै काट्नुपर्छ भनेजस्तै हुने बताउँछिन् टिकटकर प्रिज्मा । उनले भनिन्, ‘हो, केही उच्छृंखल व्यक्तिहरुले लाइक्स र कमेन्टका लागि नचाहिँदा क्रियाकलाप गर्ने र अपशब्द बोल्ने गरिरहेका छन् । यी कुराहरुलाई कसरी समाधान गर्ने भन्नेमा लाग्नुपर्छ, न कि टिकटक नै ब्यान्ड गर्ने । अरु त टिकटकले नराम्रो के नै गरेको छ र ? यसका बेफाइदाभन्दा फाइदा निकै धेरै छन् ।’

सन् २०१८ मा इन्डोनेसियाले अश्लील, उच्छृंखल र विकृत सामग्रीहरुको फैलावट गरेको भन्दै टिकटकलाई प्रतिवन्धित गर्यो । त्यसलगत्तै टिकटकले इन्डोनेसियामा टिकटकका सामग्रीहरु सेन्सर गर्नका लागि २० जना आफ्नो कर्मचारी खटायो । यसको ८ दिनपछि सरकारले प्रतिवन्ध फुकुवा गर्यो । नेपालमा पनि यस्तै प्रकारले टिकटकलाई अनुरोध गर्न सकिन्छ । यसका लागि सरकारी निकायहरुले चासो देखाउनुपर्ने हुन्छ ।

एकोहोरो नलाग्न मनोविदको सुझाव

टिकटकको अत्यधिक प्रयोगले टिनएजरहरुमा विभिन्न मानसिक समस्या पनि उत्पन्न हुन सक्ने अध्ययनहरुले देखाएका छन् । त्यसैले टिकटकको प्रयोग नियन्त्रित हुनुपर्ने सुझाव मनोविदहरुको छ । मनोविश्लेषक बासु आचार्य भन्छन्, ‘केटाहरुमा पब्जिको जस्तै केटीहरुमा टिकटक लत बढेको देखिन्छ । यसमा एकोहोरो भएर लाग्दा पक्कै पनि मानसिकरुपमा असर गर्छ नै । त्यसैले सबै कुरा बिर्सेर टिकटकमा अत्यधिक समय बिताउनु मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुन्न ।’

टिकटकमा आफूले सोचेजस्तो लाइक र कमेन्ट नआउँदा टिनएजरहरु दुःखी र निराश हुने समस्या पनि उनले औंल्याए । ‘अहिले धेरैलाई कसरी हुन्छ भाइरल हुनु परेको छ । भाइरल हुने लोभमा युवायुवतीहरु अनेक किसिमका प्रयोग गर्छन् । तर, यति गर्दा पनि लाइक–कमेन्ट आएन भने पक्कै पनि उनीहरुमा नैराश्य र चिड्चिडाहट उत्पन्न हुन्छ नै,’ उनले भने । टिकटकमा लाइक र कमेन्टको पछि दौडिनुभन्दा यसलाई सामान्य मनोरञ्जनको साधनका रुपमा उपभोग गर्न आचार्यको सुझाव छ ।

उनी भन्छन्, ‘सबै मान्छे सबै कुरामा पोख्त हुँदैनन् । त्यसैले टिकटकमा हिट हुन सकिनँ भनेर दुःखी हुनु भएन । अन्यथा यसले समस्या निम्याउँछ । छोराछोरीहरु सामाजिक सञ्जालको लतमा परेको भनेर धेरै बाबुआमाहरु आफूकहाँ सल्लाह सुझाव माग्न आउने गरेको उनले सुनाए ।

अनलाइन खवरवाट



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy