अन्जना शिवाकोटी
सम्पूर्ण नीतिको प्रमुख नीति राजनीतिलाई मानिन्छ । नेपालको इतिहासदेखि वर्तमानसम्मको राजनीतिक संस्कारको अवस्था हेर्दा पूर्वाग्रह, कलह, विद्रोहको रुपमा विविध राजनीतिक व्यवस्थाको प्रयोग र अवलोकनमा नै बितेको पाइन्छ । चाहे त्यो राजतन्त्र भित्रको आन्तरिक शक्ति संघर्ष, दरबारीय षड्यन्त्र होस् वा राणा शासनको पारिवारिक खिचातानी, चाहे त्यो प्रजातन्त्र स्थापना पछिको दलीय स्वार्थ होस् वा गणतन्त्र स्थापना पछिको कुर्सी र पदको लागि अपनाइएका हदकण्डा, खुट्टा तानातान ।
सबै राजनीतिक व्यवस्थाको अवस्था हेर्दा नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका तथा आम मानिसहरुमा वितृष्णाको भावनाले डेरा जमाएको छ । अझ वर्तमानको नयाँ पिँढी त राजनीतिलाई फोहोरी खेल भनिरहेको छ । आजको पिँढी राजनीति भनिसक्दा छिः छिः दुरः दुरः गर्दै टाढिनुले नेपाली परिवेशमा असल राजनीतिक संस्कारको बहुत ठूलो अभाव नै हो भन्ने स्पष्ट पार्दछ ।
विश्वका केही मुलुकहरु जसले राजनीतिक संस्कारलाई आत्मसाथ गर्न सके उक्त देशहरुको प्रगती र समृद्धि देखेर पनि सायद यहाँका जनताहरु विरक्तिएका होलान् । हुन पनि हो हाम्रो नजिकको उत्तरी छिमेकी राष्ट्र चीन जसले आर्थिक उदारीकरणको नीति लिँदै जाँदा विश्वमै आर्थिक रुपमा पहिलो मुलुक भएको छ । किनकि त्यहाँको राजनीतिक संस्कार उच्च कोटीको छ, जसमा त्यहाँको कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले गरेको निर्णय र एजेण्डा हुबहु लागू हुन्छ । त्यस्तै सु–संस्कृत राजनीतिको अभ्यास गरेका बेलायत, फ्रान्स, जापान सबै क्षेत्रमा उत्कृष्ट राज्यका रुपमा चिनिएका छन् ।

लोकतन्त्रको लागि नेपाली जनताले गरेको कठोर त्याग, बलिदान र उत्सर्गबाट प्राप्त उपलब्धिको रुपमा रहेको हालको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान कार्यन्वयन सँगै विकास र समृद्धिको जनआकांक्षा सम्बोधन गर्ने असल राजनाीतिक जिम्मेवारी बहन गर्न अहिलेको राजनीतिक संस्कार बोकेका नेतृत्व र दल कति सम्म सफल वा असफल भए हुनेछन् जनताले मूल्यांकन गरेको महत्वपूर्ण विषय हो । नेपाली राजनीतिक संस्कारको बारेमा नेपाली राजनीतिक विश्लेषक र बौद्धिक व्यक्तिहरुको पनि आ–आफ्नो मत रहेका छ ।
राजनीतिक संस्कार भनेको राजनीतिलाई व्यवहारमा लैजाँदा अभ्यासमा आउने चरित्र हो । तर, दुर्भाग्य हाम्रो मुलुकमा राजनीतिक संस्कार परिस्कृत हुन सकेको छैन । त्यो हामीले अनुभूत गर्न, हेर्न र महशुस गर्न सकेका छैनौँ । राजनीतिक दलहरु तथा यिनका कार्यकर्ताहरुको संस्कार औसत रुपमा देखिए पनि मुख्य रुपमा अल्पविकसित मानसिकताको राजनीतिक संस्कार नै नेपाली समाजको अभिषाप हो ।
असल राजनीतिक संस्कारले आपसमा सद्भाव, सम्मान, मूल्यमान्यतामा एकता र सहकार्य खोज्दछ । तर, अफसोच यहाँ त अरुको आस्थाको सम्मान त परै जाओस् एउटै विचार बीचमा एकता र सहकार्य देख्न सकिएको छैन । उदारता, सत्यता, प्रजातान्त्रिक व्यवहार, अरुको विचारको सम्मान, अरुलाई स्थान दिन सक्ने संस्कारको विकासले मात्र सु–संस्कृत राजनीतिक संस्कारको जग बलियो हुन्छ ।
नेपाली समाज राजनीतिक रंगको चस्मा उतारेर अध्ययन गर्ने हो अत्यन्त्यै सु–संस्कृत संस्कार युक्त समाज हो, तसर्थ हामी नेपाली संसार भरि प्रिय छौं । तर, राजनीति संस्कारको अनुपस्थितिमा यति सुन्दर, सामाजिक, सांस्कृतिक संस्कार बोकेको नेपाली समाज परिस्कृत हुनुको साटो अझ पछाडि परि रहेको छ ।
तसर्थ, राजनीति गर्ने र तिनलाई खबर दारी गर्ने जो सुकैले असल राजनीतिक संस्कार पाठ राम्रो सँग पढेर बुझेर मात्र यस सेवाको क्षेत्रमा लाग्ने अभियानमा लाग्नु पर्दछ । राजनीति कर्मी बन्नुको पहिलो कर्तव्य नै संस्कारलाई परिस्कृत गरी देश र समाजलाई योगदान गर्नु हो भन्ने भुल्नु हुँदैन ।
लेखक शिवाकोटी अनेरास्ववियु केन्द्रिय कमिटि सचिव तथा मघेस प्रदेश इन्चार्ज हुन