पुरन रौनियार
जनकपुरधाम, भदौ २५ : ८८ वर्षिय शिवनाथ प्रसाद साह रौनियार, वहाँ मेरो बाजे उमेरको हुनुहुन्छ, म वहाँलाई सर भनेर सम्बोधन गर्छु । जनकपुरधाम वडा नं. २ स्थित वहाँको घरमा एक (अनवारी) काठको दराज छ । जस्मा रौनियार समुदायको ईतिहाँस, संगठन स्थापना, नेपाल–भारतमा जातीको उपस्थिती, दुवै देशमा भइरहेको संगठनका काम, समुदायबाट पृथक र सफल काम गरेका व्यक्तिहरुको विवरण र उनी संग सम्बन्धि सुचना र समाचार सम्बन्धी प्रकाशन र कागजात मात्र होइन उनले समाजमा गरेका कामहरुको समेत तस्वीर र प्रमाणहरु अझै सुरक्षित छन् ।
वहाँ रौनियार सेवा समिति जनकपुरधामका संस्थापक र हाल नेपाल रौनियार महासंघका केन्द्रिय अध्यक्ष पनि हुनुहुन्छ । नेपाल भारत मैत्री युवा संघले उनलाई जनकपुरधाममा केहि दिन पुर्व विशेष सम्मान गरेपछि मेरो ध्यान उहाँ प्रति थप केन्द्रित बन्यो । वहाँ नेपाल भारत मैत्री संघका संस्थापक अध्यक्ष सहित काम गरिसक्नु भएको पनि जानकारी भयो । संयोगले उक्त कार्यक्रममा सहभागि वहाँलाई घर छोडन आयोजकको आग्रहमा म आफै गए । ‘चिया खाएर जानुस’ वहाँको आग्रह टार्न सकिन र घर भित्र पसे ।
वहाँले आफनो सो दराज र ति दराजमा सुरक्षित राखिएका ति सवै कागजात देखाउदै व्यापार व्यवसायमा मात्र केन्द्रित हुने रौनियार समुदायबाट भएपनि पत्रकारिता जस्तो न्युन आर्जन हुने संर्घषपुर्ण पेशा रोजेर त्यसमै सम्पुर्ण समय व्यतित गरिरहेकोमा धन्यवाद दिदै मेरो प्रशंसा पनि गर्नुभयो । वहाँ संग मेरो विगत १० वर्षको चिनजान भएपनि वहाँको समुदाय प्रतिको सम्पुर्ण योगदान मात्र नभई जनकपुरधामको समाजमा वहाँको भुमिका र कामहरुको बारेमा पनि ति दराजकै कागजातबाट प्रष्ट भए ।
एक छिनका लागि वहाँलाई घर मात्र छोडन गएको म करिव दुई घण्टा वितेको थाहै भएन । एक एक तथ्य प्रमाण सहित आफना अतित प्रष्ट गर्नथाल्नु भएका शिवनाथ सरले आफु नेपाल भारत मैत्री संघको संस्थापक अध्यक्ष भएर काम गरेको तत्कालिन भारतिय राजदुत सहितको कार्यक्रमको तस्वीर देखाउनु भयो । अनि म वहाँको जनकपुरधाम आगमण देखि व्यवसायिक जिवन, रौनियार समुदायको पहिचान र संगठन निर्माण सम्बन्धमा जिज्ञासा राखेपछि वहाँले मेरो सबै जिज्ञासा प्रमाण सहित मेट्न थाल्नु भयो ।
शिवनाथ बाबु र जनकपुरधाम
१९३५ साल जनवरी ०६ मा भारत बिहार जयनगरको बेलामा जन्मिनु भएका वहाँ जनकपुरधाममा बहिनिको घर रहेकाले बच्चै देखि आजजान गर्नुहुन्थ्यो र १९६५ मा कामेश्वर साह सुडीको बाजेको धर्मशालामा रहेको सटर प्रति महिना १ सयको दरले भाँडामा लिएर बैदेही अफसेट प्रेस सञ्चालन गर्नुभयो र जनकपुरधाम बस्न थाल्नु भयो । सो अफसेट प्रेस अझै वहाँका सुपुत्रले सञ्चालन गरिहनु भएको छ ।
नेपालमै कपि उद्योग नरहेको बेला वहाँले कानपुरबाट मेशिन मगाएर जनकपुरधाममा पहिलो पटक स्थानिय स्तरमै कपि उत्पादन गरि शिक्षा क्षेत्रमा समाग्री सहजता ल्याउने काम गर्नुभएको छ । थप व्यवसाय गर्नुपर्ने भन्दै वहाँले एक सहयोगीको सल्लाहमा दाउराको ठेक्का लिएर विराटनगरबाट दाउरा ल्याउने व्यवसाय गर्न थाल्नु भयो तर निकै राम्रो घाटा लागेपछि काम छोडनु भयो ।
वहाँ व्यवसाय विस्तार गनुपर्ने उद्देश्य बोकेर १९७० मा नेपालको राजधानी काठमाण्डौं पुग्नुभयो जुन बेला पाकिस्तान र बंगलादेशको भिडन्त भइरहेको थियो । शिवनाथ सरलाई एक ट्रक लालटेन, सिलेट, पेन्सिल र चक सहितका शैक्षिक समान ल्याउने अवसर प्राप्त भयो । वहाँले कुनै झन्झट नमानि आगराबाट चक, कलकताबाट लालटेन र आन्ध्रप्रदेशबाट सिलेट गरि कुल ३८ हजार लागतको सो समान आयात गर्दा ७८ सय रुपैया आम्दानी भएको स्मरण गर्नुहुन्छ ।
त्यसपछि निरन्तर स्टेशनरीका समानहरु आयातको काम गर्न थाल्नु भएका वहाँले जनकपुरधाममा नेविको विस्कुटको एजेन्सी लिएर विमानबाट विस्कुट मगाएर विक्रि वितरण गर्न थाल्नु भयो । चियापत्तिको पनि थोक विक्रेताका रुपमा थप व्यवसाय गरेका वहाँले १९७५ सम्म काठमाण्डौं र त्यसपछि जनकपुरधाममै बसेर व्यवसाय गर्दै आउनु भएको छ ।
हाल उहाँका दुई सुपुत्रहरु सो कामहरु सम्भाली रहेका छन् । उहाँले वि.सं. २०१६/०१७ साल देखि नै शैक्षिक समाग्री किताव, कपी सहितको वितरक, विक्रेताका रुपमा काम गर्दै सेवा गर्दै आइरहनु भएको छ । उहाँले नेपाल भारत मैत्री संघका संस्थापकको रुपमा तक्कालिन भारतिय राजदुतहरु संगको समन्वयमा जनकपुरधाम र यस समाजका लागि धेरै भुमिका निर्वाह गर्नुभएको छ । वहाँ भन्नुहुन्छ ‘मैले कहिल्यै माग्ने काम गरिन, तर पनि सधै नेतृत्वकै अवसर र सौहार्दता मलाई प्राप्त भएको छ ।’
शिवनाथ बाबु र रौनियार समुदाय
जनकपुरधामका गुदरराम (दुर्गा प्रसाद) संग वहाँको राम्रो र पारिवारिक सम्बन्ध थियो । सन १९८४ तिर गुदरराम जी रौनियार समुदायको जनकपुरधाम देखि लहान–लौकहा हुदै मधुवनी सम्मका माइजन (नेतृत्वकर्ता) हुनुहुन्थ्यो । उहाँ नेतृत्वको वि.सं. २०३५ देखि २०४८ साल सम्मको रौनिया सेवा समितिको उपाध्यक्ष भएर काम गरेका वहाँ २०४९ देखि २०५१ सम्म अध्यक्ष हुनुभयो ।
२०५६ सालमा पुन: समितिको अध्यक्ष भएका वहाँकै कार्यकालमा जनकपुरधामको हालको चिल्ड्रेन पार्क छेउ भैरवचौकमा अवस्थित रौनियार धर्मशालाको निर्माण भयो । २०५६ देखि २०६८ साल सम्म दिनरातको अथक मेहनत र लगन पश्चात उहाँकै अध्यक्षता र अगुवाईमा धर्मशाला निर्माणले पुर्णता पायो र जनकपुरधाममा रौनियार समुदायको आधिकारिक पहिचान सहितको उपस्थिती जनकपुरधाममा सार्थक भयो ।
वहाँ भन्नु हुन्छ, ‘रौनियार समुदायको संगठन र हितका लागि गुदरराम जीको धेरै योगदान र खर्च भएको थियो पछि उहाँले एकदम न्युन मुल्यमा धर्मशालाको लागि आफनो जग्गा उपलब्ध गराएपछि हाम्रो समितिको धर्मशाला बन्यो जस्मा प्राविधिक रुपमा धनेश्वर प्रसाद रौनियारको सहयोग थियो ।’
२०६८ साल पछि वहाँ देशभरिकै रौनियारलाई छाता संगठन मुनि संगठित गर्ने उद्देश्यले सोहि वर्षको चैत्र २५ र २६ गते भारत सहित अन्य देशका समेत समुदायका अतिथिलाई समावेश गरि जनकपुरधाममा अन्तराष्ट्रिय रौनियार सम्मेलन भब्यता पुर्वक सफल आयोजन गरि नेपाल रौनियार महासंघको गठन गरि संस्थापक अध्यक्ष हुनुभयो र अझै हुनुहुन्छ । वहाँबाटै थाहा पायौं हामि भारतका महान् सम्राट विक्रमादित्य हेमचन्द्र रौनियारका बंशज हौं भनेर । सम्राट विक्रमादित्य बारे वहाँको एक प्रकाशन समेत प्रकाशित भइसकेको छ ।
वहाँ नेपालमा रौनियार समुदायबाट प्रतिनिधीत्व गर्ने कर्मचरी, पत्रकार, चिकित्सक, हाकिम, उच्च पदस्थ कर्मचारीहरु सहित हरेक पृथक क्षेत्रका व्यक्तित्वहरुको सम्र्पक नम्वर राखेर समय समयमा फोन गरि सामुदायिक हितका बारेमा जिज्ञासा राख्ने क्रम जारी राख्नु भएको छ ।
अझै पनि रौनियार समुदायको जनसंख्या, जातिय सुचिमा सुचिकृत, अधिकार, पहिचानको प्राविधिक कुराहरुको बारेमा उल्टै वहाँले नै युवाहरुलाई घचघचाउने काम गरिरॐहनु भएका शिबनाथ बाबु रौनियार सेवा समितिमा अझै हरेक शनिवार हुने बैठकमा अभिभावकिय भुमिका निर्वाह गरि मार्गर्दशन गर्नुहुन्छ ।
वहाँले सन १९९२ देखि २००२ सम्म दश वर्ष घरेलु तथा लघु उद्योग महासंघ धनुषाको अध्यक्ष, १९९७ मा अखिल भारतिय रौनियार वैश्य महासभाको कलकता अधिवेशनबाट सहायक महामन्त्री, १९९८ देखि २००८ सम्म नेपाल भारत मैत्री संघ धनुषाको अध्यक्ष भएर काम गरिसक्नु भएको छ ।