एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १८ : धनुषामा ग्राभेल लोड रहेको तिव्र गतिको टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन् । जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१२ रघुनाथपुर सिर्काटोलस्थित पोखरी नजिक प्रदेश–२–०३–००१ क. १६२१ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँ बस्ने धिरेन्द्र कुमार दनुवारका ७ वर्षीय छोरा रियान्स कुमार दनुवारको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट सोही ठाउँ बस्ने बिरेन्द्र दनुवारकी ५ वर्षीया छोरी राधी कुमारी दनुवार गम्भीर घाइते भएकी छन् । उनको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ । सोमबार दिउँसो करिब साढे १ बजेको समयमा विद्यालयमा छुट्टि भएपछि घर फर्किरहेका दुबैजनालाई तिव्र गतिमा रहेको सो टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
बरमझियाबाट रघुनाथपुरतर्फ जाँदै गरेको तिव्र गतिको उक्त टिपर अनियन्त्रित भई दुबै बालबालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन् । घटनास्थलमा २ सयको संख्यामा उपस्थित स्थानीबासीले बाटो अवरुद्ध गरि चक्काजाम गरेका थिए । सोही क्रममा स्थानीय र प्रहरीबिच केही चर्काचर्कीसमेत भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायरसमेत गरेको थियो ।
स्थानीयले बोतलमा पेट्रोल राखी प्रहरीमाथी प्रहार गरेकोले स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाई फायर गर्नुपरेको डीएसपी गौतमले जानकारी दिए । ठक्कर दिने टिपरका चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।