जनकपुरधाम, साउन ६: जनकपुरधाममा यात्रु बाहक सवारी साधनका चालक र सहचालकहरूका लागि आँखा र कानको जाँच शिविर सञ्चालन गरिएको छ ।
शुक्रबार धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आयोजन तथा माँ जानकी जकपुरधाम यातायात प्रालि, श्री जानकी आँखा अस्पताल र म्याक्स लाइभ अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । शिविरमा बस पार्क क्षेत्रका सवारी चालकका चालक तथा सहचालका साथै आसपासका सर्वसाधारणले निःशुल्क रूपमा आँखा र कान जाँच गराएका थिए । चालक पूर्ण रूपमा स्वस्थ्य भए दुर्घटनाको जोखिम पनि घट्ने भएकाले उनीहरूको आँखा र कान जाँचको व्यवस्था गरेको धनुषाका ट्राफिक प्रहरीका प्रमुख चन्द्रभूषण यादवले बताउनुभयो ।
त्यस्तै, माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले चालकहरूको आँखा र कान स्वस्थ हुनुपर्ने भन्दै व्यस्तताका कारण उपचार गराउन नपाएकालाई यो शिविरले सहजता प्रदान गरेको बताउनुभयो ।
शिविरमा करिब १ सय ५० जनाले आँखा र कानको परीक्षण गराएका थिए।