एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : मधेश सरकारले संघीय सरकार विरुद्ध जारी राखेको आन्दोलन स्थगित गरेको छ । मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले मंगलबार पत्रकार सम्मलन गर्दै प्रहरी समायोजनका लागि संघीय सरकारलाई दबाब दिने उद्देश्यले गरिएको धर्ना कार्यक्रम स्थगित गरेको जनाएका हुन् ।
आन्दोलन थालेको तेश्रो दिनमै मधेश सरकारले संघर्षका कार्यक्रम फिर्ता लिएको हो । उनीहरूले संघीय सरकारले चुनावपछि प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएपछि धर्ना स्थगित गरेको जनाएका छन् । मुख्यमन्त्री लालबाबु राउतले आफूहरूले आन्दोलन थालेपछि संघीय सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभयो ।
धर्ना स्थगितको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रदेश प्रमुख हरिशंकर मिश्र पनि उपस्थिति हुनुभएको थियो । उहाँले मधेश सरकारको मांग प्रति संघिय सरकार गम्भिर रहेको र चुनावपछि प्रहरी समायोजन हुने दाबी समेत गर्नुभयो ।
मधेश सरकारका मुख्ममन्त्री, मन्त्री तथा सांसद्हरूले आइतबारदेखि आन्दोलन थालेका थिए । पहिलो चरणमा सात दिनसम्म धर्ना गर्ने भनेर मधेश सरकारले भनेको थियो । गठबन्धनमा आबद्व शीर्षनेता, प्रधानमन्त्रीसहितका सबैलाई ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए ।
प्रहरी प्रशासनसहित विभिन्न अधिकारहरू प्रदेश सरकारलाई हस्तान्तरण नगरिएसम्म संघीयताको सफल कार्यान्वयन हुन नसक्ने मधेश सरकारको भनाइ छ । यसअघि साउन २२ गते प्रदेश प्रमुखमार्फत संघीय सरकारलाई सातदिने अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाइएको थियो । तर पनि सुनुवाइ नभएपछि आइतबारबाट धर्ना सुरु भएको थियो । सो अवसरमा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह समेतको उपस्थिती थियो ।