एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ :
जनकपुरधामको वेङ्गाशिवपुरमा सम्पन्न नौ दिवसीय श्रीसीताराम नाम जप महायज्ञ आज सम्पन्न भएको छ। विश्व शान्ति तथा मानव कल्याणका लागि आयोजित महायज्ञ चैत्र ५ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको थियो। महायज्ञमा भारत र नेपालका लाखौं भक्तजन सहभागी भएका थिए।
महायज्ञमा ३,५०० कीर्तन मण्डलीहरू सहभागी भएका थिए, जसलाई आज दक्षिणा प्रदान गरी विदाई गरिएको छ। कार्यक्रमअन्तर्गत अष्टजाम, रामार्चा पूजा, लखराम पूजा तथा अन्य धार्मिक अनुष्ठानहरू सम्पन्न भएका छन्।
गत पुस २ गतेदेखि नै सो स्थानमा अखण्ड कीर्तन जारी रहेको थियो। भारतको सीतामढी पुनौराधामका तपस्वी सन्त बाबा राघवेन्द्र दास को अगुवाइमा सम्पन्न महायज्ञमा लाखौं भक्तजनहरूले सहभागिता जनाएका थिए।
महायज्ञको समापन कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीकी मधेश प्रदेश सभा सदस्य रमिता प्रधान ले धार्मिक सहिष्णता र सद्भावमार्फत देशको समृद्धि र विकास सम्भव रहेको बताइन्।
बाबा राघवेन्द्र दासले मानव कल्याण तथा विश्व शान्तिका लागि आयोजित महायज्ञले स्थिरता ल्याउने विश्वास व्यक्त गर्दै, माता सीताको जन्मभूमिमा यज्ञ सम्पन्न गर्न पाउँदा खुशी व्यक्त गरे।
महायज्ञ सफल बनाउन महायज्ञ समितिका संयोजक मुकेश यादव को विशेष योगदान रहेको जनाइएको छ।