एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २२ :
त्रेतायुगमा सीतारामले रंग-अबिर दलेर होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा होली उत्सव मनाएका छन्। मिथिला विहारीको डोला सहित कञ्चनवन पुगेका तीर्थयात्रीहरूले एकअर्कालाई रंग-अबिर दल्दै होलीको उल्लास साटेका छन्।
संस्कृतिविद्हरूका अनुसार, परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा रहँदै आएको छ। यस अवसरमा मिथिलाञ्चलका विभिन्न मठ-मन्दिरका महन्थ, सामाजिक तथा सांस्कृतिक अभियन्ता, राजनीतिक व्यक्तित्वहरू समेत सहभागी भएका छन्।
फागुन शुक्ल प्रतिपदाबाट सुरू भएको मिथिला मध्यमा परिक्रमा सप्तमी तिथिमा ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्छ। यही स्थानमा इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल रहेको छ। जनविश्वासअनुसार, इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको थियो। परम्परा अनुसार, सीतारामले यही स्थानमा होली खेलेको मानिन्छ, जसलाई परिक्रमा सहभागीहरूले रंग-अबिर खेल्दै पुनर्जीवित गरिरहेका छन्।
रंग-अबिरको छटा, होरैया गीतको गुञ्जन अनि हजारौँ भक्तजनहरूको सहभागिता कञ्चनवनको होलीलाई झनै विशेष बनाएको छ। जनकपुरधामको हनुमाननगरबाट सुरू भएको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुगेको हो।