एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ : आज वसन्त पञ्चमी अर्थात विद्या दायनी माता सरस्वतीको पुजा हुने दिन । आजको दिन जनकपुरधाममा विशेष चहल पहल हुन्छ । खासगरि स्कुल, कलेजका विद्यार्थीहरु नयाँ पोशाकमा आफनो मात्र नभई नगर भित्रकै विद्यालय र कलेजहरुमा पुग्ने गरेका हुनाले पनि आजको दिन किशोर र युवायुवतीहरुको चहल पहल प्राय बढि हुन्छ । त्यसका लागि करिव एक हप्ता देखि तयारी भइरहेको हुन्छ ।

आज हरेक विद्यालय, कलेज सहितका शैक्षिक, कलाकारिता सहितका संस्था मात्र होइन पछिल्लो समय जनकपुरधामको हरेक चौक र गल्लीहरुमा पनि स्थानियले समेत देवी सरस्वतीको मुर्ती स्थापना गरि पुजापाठ सुरु गर्न थालेपछि विशेष रौनकता देखिन्छ । पछिल्लो समय सरस्वती पुजा पुजापाठ, अध्यात्म र धार्मिक भन्दा पनि आधुनिकता र फेशन तर्फ केन्द्रित हुँदा युवाले मौलिक सरस्वती पुजा विर्सने खतरा छ ।
यद्यपि जनकपुरधामको मिट स्कुलमा दुई विद्यार्थी विद्यालय पोशाकमा देवी सरस्वतीको पुजा गरिरहेको मुर्ती र मुर्ती अगाडि हनुमान आराधना सहितका धार्मिक भजन किर्तन भइरहेको दृश्य पनि देखियो ।

जानकीचौक तराजुमा लक्ष्मी भन्दा सरस्वती हलुका

जनकपुरधामको जानकी चौकका युवाहरु हरेक वर्ष जस्तै यस वर्ष पनि कलात्मक मुर्ती स्थापित गरि सरस्वती पुजा मनाएको छ । जानकी मन्दिरकै उत्तर छेउमा अति व्यस्त जानकी चौकमा हरेक वर्ष सान्दर्भिक सन्देश दिने देवी सरस्वतीको मुर्ती स्थापित गरि युवाहरु धुमधामका साथ यो दिन मनाउने गरेका छन् । यस वर्ष गेरुवा वस्त्रमा साधवी स्वरुपमा देवीको मुर्ती स्थापित छ । एक हातमा देवीको उहि बिणा र अर्को हातमा भने तरवार छ ।
अहिले महाकुम्भ, साधुसन्तको माहोल रहेको साथै हिन्तुत्वको रक्षाका लागि पनि सन्देश दिन यस स्वरुपको मुर्ती स्थापना गरिएको आयोजक युवाहरुको भनाई छ । साथै मुख्य मुर्ती छेउमै एउटा तराजुको दुवै तर्फ रहेको दुई देवी मध्ये लक्ष्मी भन्दा सरस्वतीलाई हलुका देखिाइएको छ । आजकल विद्यार्थी, युवा र समाज विवेक, ज्ञान र अकिल भन्दा पैसाको पछाडि कुदने र मरिहत्ते गर्ने गरेको सांकेतिक सन्देश दिन खोजएको हो । मुख्यमुर्तीको पश्चिम छेउमा गणेश भगवानको मुर्ती छ ।
माता सरस्वतीको जन्म दिन पनि आजै
पञ्चांगका अनुसार बसन्त पञ्चमी माघ महिनाको पञ्चमी तिथिमा मनाइन्छ । हिन्दू मान्यताका अनुसार यसै दिन देवी सरस्वतीको जन्म भएको थियो । सृष्टीको रचना गर्दा जब ब्रम्हाले जीवजन्तुहरु तथा मनुष्य योनीको रचना गरे, सबैतिर सन्नाटा छाएको थियो । उनलाई लाग्यो कि केही कुरा अपुरो छ । त्यसपछि उनले आफ्नो कमण्डलुबाट जल छर्किए, जसबाट चार हात भएकी एक सुन्दर स्त्री प्रकट भइन् ।
ती स्त्रीको एक हातमा वीणा तथा अर्को हात वर मुद्रामा थियो । बाँकी दुई हातमा पुस्तक र माला थिए । ब्रम्हाले देवीसँग वीणा बजाउने अनुरोध गरिन् । जसै देवीले वीणा बजाउन सुरु गरिन्, संसारका समस्त जीवजन्तुहरुमा आवाज भरियो । त्यसपछि ब्रम्हाले उनलाई ‘वाणीकी देवी सरस्वती’ नामाकरण गरे । ब्रम्हाले देवी सरस्वतीको उत्पत्ती बसन्त पञ्चमीकै दिन गरेकी थिइन् । त्यसैले हरेक वर्ष बसन्त पञ्चमीको दिन सरस्वतीको जन्म दिन मनाइन्छ ।