एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ :
जनकपुरधाममा श्री हरि सत्संग समिति नेपालको आयोजनामा सनातन धर्मको प्रचार-प्रसारका लागि पाँचदिने प्रशिक्षण कार्यक्रम सुरू भएको छ। पछिल्ला दिनहरूमा धर्म परिवर्तनका घटनाहरू बढ्दै गएको सन्दर्भमा यसलाई रोक्न तथा सनातन धर्मको रक्षा र प्रवर्द्धन गर्न ४५ जना शिष्य-शिष्याहरूलाई प्रशिक्षण दिइँदैछ।
भारतबाट आएका चार प्रख्यात गुरुहरूले प्रशिक्षण सञ्चालन गर्ने जानकारी जनकपुर सम्भाग अध्यक्ष ललित बजाजले दिएका छन्।
कार्यक्रम उद्घाटन गर्दै पूर्वमन्त्री जुली महतोले जनकपुरधामको धार्मिक तथा ऐतिहासिक महत्त्व औंल्याउँदै यसको संरक्षण र प्रचार-प्रसार गर्नुपर्ने आवश्यकता बताइन्। उनले जनकपुरधामलाई नेपाल सरकारले वैवाहिक स्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी पनि दिइन्।
प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले हिन्दु धर्मले सद्भावको शिक्षा दिने परम्परा रहेको उल्लेख गर्दै सबैले यस मार्ग अपनाउनुपर्नेमा जोड दिए।