एसपी रिपोर्टर
जनकपुरधाम, कातिक १७ : लक्ष्मी पूजा सम्पन्न भएको दुई दिनपछि मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व मनाइएको छ । कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मिथिलाञ्चलमा गोवर्धन पूजा गर्ने परम्परा रहेको छ । गोवद्र्धन पूजा संगै मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व समेत धूमधामका साथ मनाइन्छ ।
कार्तिक महिनाको प्रतिपदाका दिन बलि पूजा, अन्नकुट, मार्गपाली आदि उत्सव समेत हुने गर्छ । अन्नकूटको पवित्र दिवसमा चन्द्र दर्शन अशुभ मानिएको छ । त्यसैले यदि प्रतिपदा तिथिका दिन द्वितीया तिथि परेमा लक्ष्मी पूजाकै दिन यो पर्व मनाउने परम्परा रहेको छ ।
अन्न्कुटको अवसरमा जनकपुरधामका जानकी मन्दिर सहित अधिकांश मन्दिरहरुमा अन्नकुट पर्व मनाइने गरिन्छ । अन्नकुटमा भगवानको विशेष पूजा अर्चना गरी विशिष्ट भोजनको भोग लगाइने गरिन्छ । भगवानका लागि अन्नकुट पर्वका दिन छप्पन भोग व्यञ्जन अर्पण गर्ने परम्परा रहेको छ । यस अवसरमा जानकी मन्दिरमा श्रद्धालु भक्तजनहरु भीड लागेको हुन्छ । हुनत यो पर्वको प्रारम्भ ब्रजबाट शुरु भएको मानिन्छ तर कलान्तरमा गएर यो पर्व मिथिलाञ्चलमा समेत मनाउन थालिएको हो ।
अन्नकुट र गोवर्धन पूजा द्वापर युगमा भगवान कृष्णको अवतारकै समयमा प्रारम्भ भएको धर्मग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । गाई गोरु आदि जो वर्षभरि मानव सेवा गर्छन् आजको दिन उनीहरुलाई स्नान गराएर फूल माला, धूप, चानन आदिले पूजा गरिन्छ ।
गोबरले गोवर्धन पर्वत बनाएर पूजा अर्चना समेत गरिन्छ । कातिक शुक्ल पक्षको प्रतिपदाका दिन भगवानका लागि भोग नैवेद्यमा नियमित प्रसादका अतिरिक्त सामथ्र्य अनुसार अन्नबाट बनेको काँचो वा पकाएको भोग, फलफूल आदि अनेक प्रकारका पदार्थ अर्पण गर्ने गरिन्छ जसलाई छप्पन भोग भनिन्छ । सोही चढाइएको भोगबाट प्रसादको रुपमा भक्तजनहरुमा बाँड्ने गरिन्छ ।