साउने सोमबारी मेलाको कपिलेश्वरनाथमा भव्य तयारी


एसपी रिपोर्टर
जनकपुरधाम, साउन २ :
साउने सोमबारीको पूर्व सन्ध्यामा जनकपुरधाम १६मा रहेको कपिलेश्वरनाथ महादेव मन्दिरमा भव्य तयारी गरिदै छ । साउन महिनामा पर्ने प्रत्येक सोमबार शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने हुँदा कपिलेश्वरनाथ महादेव मन्दिरमा सो को भव्य तयारी गरिएको कपिलेश्वरनाथ युवा कमिटिका अध्यक्ष मनोजकुमार साहले बताए ।
साउन ५ गते शनिबार कलश यात्रा संगै साउने सोमबारी मेलाको शुरुवात हुने अध्यक्ष साहले बताए । यसका साथै साउन ७ गते सोमबारबाट साउन महिना भरी भव्य सन्ध्या आरतीको आयोजना गरिने छ ।
स्थानीय कपिलेश्वरनाथ युवा कमिटिका युवाहरुले प्राचिन यो मन्दिरको ऐतिहासिकताको प्रचार प्रसार गर्ने उद्देश्यले प्रत्येक वर्ष शिवरात्री मेलाका साथै साउन महिनाको सोमबारी मेलाको भव्य आयोजन गर्दै आईरहेको छ । श्रद्धालु भक्तजनलाई भगवान शिवको दर्शन गर्दा असहज परस्थितिको सिर्जना नहोस त्यसका लागि व्यवस्था समेत मिलाइएको अध्यक्ष साहले बताए । कमिटीका सल्लाहकार एवं संचारकर्मी श्रीनारायण साहले कपिलेश्वरनाथ महादेव मन्दिरको प्राचिनता तथा ऐतिहासिकता बारे मन्तव्य राखेका थिए ।
स्थानीय कपिलेश्वरनाथ युवा कमिटीका युवाहरुले यो मन्दिरको धार्मिक महत्व तथा ऐतिहासिकता बचाउनका लागि मन्दिरको विकास र संरक्षणको माग पटक पटक उठाउँदै आईरहेका छन् ।
त्रेता यूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वर नाथ महादेव मन्दिरको स्थापना समेत गरेका थिए । स्थानीयवासहरुका अनुसार कपिलेश्वरनाथ महादेव मन्दिरमा हालसम्म १८ वटा महन्थ भई सकेका छन् ।
पत्रकार सम्मेलनमा सहभागी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारले कपिलेश्वरनाथ मन्दिरको संरक्षण विकासको काम स्थानीयवासीको अग्रसरता तथा चन्दा संकलन गरेर हुँदै आई रहेको जानकारी दिए । उनले यति प्राचिन शिवलिंग रहेपनि यो मन्दिरको विकास तर्फ न प्रदेश सरकारले न जनकपुरधाम उपमहानगरपालिकाले चासो देखाएको आरोप लगाए ।
वि.सं. १९९० सालमा आएको भूकम्पमा मन्दिर भत्किएपछि त्यहाँ रहेको अभिलेख तथा त्यहाँका बहुमूल्य मूर्तिहरु कहाँ लगियो यो विषयमा कसैलाई कुनै जानकारी नरहेको र यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको स्थानीयवासीहरुको भनाई छ ।
